अगरउड संसारको सबै भन्दा महँगो रुख मध्यको एक हो । यसलाई विभिन्न देशमा विभिन्न नामले चिनिन्छ । ईगल उड ,अग्रु, गहुरु, एलोस उड ,एजिटा उड, गारो उड ,आल्मबेक जस्ता नामले अगरउडलाई संसारभर चिनिन्छ । यसको वैज्ञानिक नाम एक्ऊईलेरिया मालाकेन्सिस हो । एक्ऊईलेरिया लेटिन भाषाको एक्ऊईलिया शब्दबाट आएको हो जस्को अर्थ “ईगल –किङ्ग अफ बर्डस् ” हो । यो साइटिसको अनुसूची दुईमा पर्ने वनस्पति हो ।
भारत , इन्डोनेसिया (सुमत्रा, ब्रुनोइ) ,इरान , बङ्गलादेश , भुटान , मलेसिया , सिङ्गापुर , थाइल्याण्ड , दक्षिण चीन, भियतनाम तथा अन्य देशमा गरिने खेती यो वनस्पतिको साधारणतया समुद्र सतह देखि १८०० मि. सम्मको उचाइ,२०–२२°से. तापक्रम भएको बढी पानी पर्ने,भिरालो ठाउँमा व्यवसायिक खेती गर्न सकिन्छ। यो १५–३० मि. अग्लो, १.५–२.५ मि. मोटाइ , सिधा र पातलो चुच्चो ५–८ सेमि. लामो पात हुने सदाबहार रुख हो । वास्नादार रुखको नामबाट प्रख्यात रहेको अगरउड कम लगानी र कम श्रम प्रयोग गरेर पनि सजिलै हुर्काउन सकिने र यसको माग र बजारभाउ राष्ट्रिय तथा अन्तरास्ट्रिय बजारमा निकै राम्रो भएकाले यो रुखको खेतीमा धरै कृषकहरु उत्साहित हुदैँ गइरहेका छन् । विशेषतः विश्वव्यापीरूपमा अगरउड खपत हुने मुख्य २ क्षेत्र छन् :
१. उत्तर पुर्वी एसिया तथा ताइवान , कोरिया , जापान आदिका बजारहरू,
२. अरेबियन पेनिन्सुला केन्द्रित पश्चिमी तथा मध्य एसियाका क्षेत्रहरू
विश्वव्यापीरूपमा यसको ब्यापार करिव ६ मिलियन अमेरिकी डलरदेखि १२ मिलियन अमेरिकी डलर रहेको छ । करिब १० वर्षमा अगरवुडको उत्पादन लिन सकिने र राम्रो चोप भएको एउटै रुखबाट १० लाख देखि २ करोडसम्म आम्दानी गर्न सकिने भएकाले कृषि क्षेत्रमा लगानी गर्न चाहाँने जो कोहीलाई पनि अगरवूड खेती सुनौलो अवसर हुन सक्दछ ।
खेती प्रविधि:
खैरो रङ्को, अन्डाकार ३.५–५ सेमि. लामो वीउ हुने यो रुखलाई मुख्य बारीमा सार्नकालागी सर्वप्रथम नर्सरीमा बेर्ना उत्पादन गर्नुपर्दछ । नर्सरीमा उत्पादन भएका बेर्नालाई ४ देखि ७ पि.एच भएको दोमट माटो खेतमा २ देखि ३ फिटको फरकमा खाल्डो खनि पोलिथिनमा भएको बिरुवा निकालेर ०.५ वर्ग मिटर खाल्डोमा रोप्न सकिन्छ । वरपर भएका झारपात वा अन्य विरुवाले यसलाई हुर्कन बाधा पुर्याउने हुँदा ५ बर्ष नपुगिन्जेल बार्षिक २ देखि ३ पटकसम्म गोडमेल गरि माटो खुकुलो बनाउँने र बेलाबेला मलजल भने गरीनै रहनु पर्दछ ।
माटो , पानी र मल:
लगभग सबैखाले माटोमा हुने भएतापनि जंगली वा दोमट माटोमा यो छिटो हुर्कन्छ । यसको व्यवसायीक खेतीलाई हल्का अम्लिय र कमलो माटो चाहिने भएतापनि सिचाँईको राम्रो व्यवस्था छ भने सुख्खा माटोमा पनि यो सजिलै हुर्कन्छ । अगरउडको मुख्य उत्पादनको रुपमा रहेको चोपको गुणस्तर र परिणाम वृद्धिकालागी भने समय-समयमा मल भने हाली राख्नु पर्दछ भने ५ बर्ष पुगेपछिका बोटहरुमा नाइट्रोजनको मात्रा बढाँउदै लग्नुपर्दछ ।
फाइदा :
भगवानको वृक्षको रुपमा चिनिने अगरवुड हिन्दु, बौद्ध लगायतका अन्य धार्मिक आस्थासँगै जोडिएको वृक्ष औषधी तथ्य सजावटको रुपमा पनि प्रयोग गरिन्छ । यस वनस्पतिबाट विश्वकै उच्च श्रेणिको तेल निकालिन्छ । यसको तेल डिप्रेसन , क्यान्सर, दम, उच्च रक्तचाप ,हेपटाइटिस , कलेजो र मृगौलाको समस्या तथा फोक्सो , पेटमा हुने ट्युमर आदि रोगहरूको उपचार गर्न आयुर्वेदमा प्रयोग गरिन्छ । यसका विभिन्न भागको छुट्टाछुट्टै महत्व हुन्छ: जसमा यसको पात – मजेदार चियाको लागि , मधुमेह ,दम उपचारका लागि ,तेल– छाला सम्बन्धि , बाथ , यौन रोग आदिकालागि, काठको धुलो– धुपको रूपमा प्रयोगमा आएको देखिन्छ,यसैगरी अगरउडको चोप एरोमा थेरापी ,अत्तर र अन्य वास्नादार बस्तुहरु बनाँउन प्रयोग गरिन्छ।
तेलको गुणस्तर:
१००% शुद्ध भारतको आसाममा पाइन्छ ।
ग्रेड ए: थाइल्यान्डमा उत्पादन हुने सबैभन्दा शुद्ध तेल (९५–९९%) मानिन्छ ।
ग्रेड बि: ए भन्दा गुणात्मक हिसाबले कम हुन्छ ।
चोप बन्ने प्रक्रिया :
प्रत्येक रुखमा प्राकृतिक र कृत्रिम तरिकाबाट अगर लाग्दछ । प्राकृतिक रूपमा एउटा रुखमा अगर लाग्नकोलागि २५–५० बर्ष लाग्छ र यसमध्ये पनि सबैमा लाग्छ भन्ने हुदैँन। कृत्रिम रुपमा अगर निकाल्नकालागि वैज्ञानिक प्रविधिबाट कृत्रिम गर्भधान गराई रुखभित्र ढुसी उत्पादन (फन्जिसाइड इन्ड्युस) गरिन्छ । फन्जाइ/ढुसी विरुवामा प्रवेश गरेपछि ,रुखका काठबाट चोप उत्पादन हुन थाल्दछ । एस्परगलास प्रजाति , बेट्रोडाईपोलिडिया प्रजाति , फेसारिएम प्रजाति आदि प्रकारका ढुसीले काठमा आक्रमण गराई विरुवाबाट चोप निकाल्छ जसलाई अंग्रेजी भाषामा रेजिन भनिन्छ । यो रेजिनले भित्रको कडा काठलाई मार्दै/खियाँउदैँ कालो पदार्थ उत्पादन गर्छ र यो नै वास्तविक अगर हो ।
नेपालमा तराईको समथल भुभाग देखि मध्य पहाडी भुभागको १८००० मिटरको उचाइसम्म यसको खेती गर्न राम्रो मानिन्छ । नेपालको हावापानी , भूगोलमा यसको खेती गर्न सकिने ठाउँहरूमा धेरनै भएता पनि व्यावसायिक रूपमा ्भने यसको खेती गरिएका ठाउँ एकदमै न्यून रहेका छन् ।
खेती गर्दैमा टपक्क फल फुल्ने, आम्दानी भैहाल्ने भन्ने नहुने र यसबाट हुने आम्दानी रुखबाट निस्किने अगरको गुणस्तरमा भर पर्ने भएकाले संभावना हुदाँहुदैँ पनि प्रविधि विस्तारमा पछि पर्दा यसको बजारीकरण चुनौतीपूर्णनै छ ।
नेपालमा वन नियमावलीको पछिल्लो संसाधनले अगरउडलाई रोयल्टी दिइसकेको र यो रोयल्टी कायम गरेर किनबेच, ओसारपसार गर्न पाइने भएतापनि इनोकुलेसन गरेर (प्राकृतिक तथा कृत्रिम ) गर्भधारण गरी उत्पादन भने निकै कम भएको पाइन्छ ।
लेखक
बिनिता तिमिल्सिना