प्रोटियासी परिवारमा पर्ने निकै स्वादिष्ट, यस मेंकेडेमियानटको उत्पत्ति अष्ट्रेलियामा भएको मानिन्छ | यसका बिश्वमा रहेका जम्माजम्मी सातवटा प्रजाति मध्ये दुइ वटा टेट्राफाइला र इंटीग्रीफोलिया मात्र खानयोग्य हुन्छ | हेर्दाखेरि झुम्म परेको गोलाकार देखिने यसको बोट ४ देखि ६० फिट सम्म अग्लो हुन्छ | सदाबहार हरियो रहने यसको बोटमा भाले र पोथी फूल एउटै हाँगोमा पाइन्छ | मेंकेडेमियानटको गुदी आइसक्रिम, चकलेट तथा बिस्कुटमा प्रयोग गरी खान सकिन्छ भने यसलाई ड्राई फ्रूटको रुपमा पनि प्रयोग गर्न सकिन्छ |
बादरले मन नपराउने तथा गाईभैसीले नरुचाउने हुदा यसको सुरक्षित उत्पादन गर्न सकिन्छ | स्वाद काजू जस्तै मिठो हुने, कोलेस्ट्रोल फ्री,तौल संतुलित राख्न मद्दत गर्ने, ओमेगा फ्याटि एसिड पाइने, छाला तथा कपालको लागि निकै उपयोगी तथा अन्य बिभिन्न फाइदा भएकाले यसको बजार माग अत्याधिक छ |कॉस्मेटिक्स क्षेत्रमा पनि यसको उत्तिकै बढ्दो माग छ | बजारमा एक केजी नटको मूल्य ४०० देखि ६०० रुपैया सम्म पर्छ भने १५० ग्राम प्रशोधित नट प्याकेटको मूल्य ६०० रुपैया छ |
हावापानी
समुद्री सतह देखि ३०० देखि १७०० मिटरको उचाइमा यसको सफल खेती गर्न सकिन्छ | धेरै चिसो तुसारो पर्ने तथा सुख्खा क्षेत्र यसको लागि उपयुक्त मानिदैन |
माटो
पानीको राम्रो निकास भएको पानी नजम्ने मलिलो माटो यसका लागि राम्रो मानिन्छ | पि एच मान ४.५ देखि ६ सम्म यसको खेतीको लागि उपयुक्त मानिन्छ |
बिरुवा उत्पादन तथा रोपने तरिका
माटो, मल तथा बालुवा मिसिएको माटोलाई एउटा पॉलीथिन ब्यागमा भरी मेंकेडेमियानटको बीउलाइ करीब ५ से.मि. माटोमा घुसाएर माटोले छोपीदिनुपर्छ | अब माथिबाट पानी दिई अलिअलि चिस्यान जोगाइराख्नु पर्छ | यसरी बीउ राखेको करीब एक महीना पछि बीउ उमरन सुरु गर्छ | यसको कलमी बाट पनि बिरुवा उत्पादन गर्न सकिन्छ |
बिरुवा रोप्दा एक बिरुवा देखि अर्को बिरुवासम्मको दुरी करीब ८ मीटर तथा एक लाइन देखि अर्को लाइन बीचको दुरी करीब १० मीटर हुने गरी बिरुवा रोपने खाडल तयार गर्नुपर्छ | १ मीटर लंबाई, १ मीटर चौडाई तथा १ मीटर गहिराई भएको खाडल खनि एक डोका पाकेको गोबर मल तथा जमिनको माथिल्लो सतहको माटो मिसाई खाल्डो पुर्नुपर्छ | यसरी तयार गरेको खाल्डोमा जेठ असारमा बिरुवा रोप्नु पर्छ |
फल पाक्ने समय र भंडारण
बिरुवा रोपेको करीब ४ देखि ५ बर्ष भित्र यसले फल दिन सुरु गर्छ | मेंकेडेमियानट फल असोजको अंतिम हप्ता तीर पाक्न सुरु गर्छ | जब बोक्रा अलिअलि फुट्छ त्यसपछि फल टिप्ने बेला भयो भन्ने जान्नुपर्छ | बोटबाट सबै फल टीपी बोक्रा निकाली मधुरो घाममा १-२ दिन सुकाएर मात्र भंडारण गर्नु उपयुक्त हुन्छ |
रोग तथा किरा
फलको बोक्रामा थोप्ले रोग लागेर फल नपाक्दै झरेर नोक्सानी हुने भएकाले बर्षको दुइ पटक इंडोफिल धूलो १ लिटर पानीमा २-३ ग्राम राखी स्प्रे गर्नुपर्छ | गवारोले हाँगाहरु प्वाल पार्ने हुदा सुकेका हाँगा काटेर बाल्ने तथा यसको लार्भालाई मारेर यसको नियंत्रण गर्न सकिन्छ |
– सन्देश सुबेदी