बकाईनो एक समुद्री सतह देखि ७००-१३०० मि. उचाईमा पाईने मुख्यतया तल्लो पहाडी उष्ण क्षेत्रीय पतझड बनस्पति हो। कहिँ कतै बकाईनो समुद्री सतह देखि २४०० मि. सम्मको उचाईमा पनि पाईएको छ। जुनसुकै वातावरणमा पनि सजिलै हुर्कन सक्ने यस बनस्पति सामान्यतया ४-५ बर्षमा साढे ५देखि ७ मि. सम्म उचाईमा पुग्दछ। बकाइनोको बैज्ञानिक नाम Melia azedarach हो जुन maliaceae समुहमा पर्दछ।
जस्तोसुकै माटोमा सजिलै हुर्कन सक्ने भएता पनि यसको वृद्धि बिकासका लागि उर्वर युक्त बलौटे माटो उपर्युक्त मानिन्छ।बकाईनोलाई प्रयाप्त मात्रामा प्रकाशको आवस्यकता पर्दछ। क्षारिय माटोमा राम्रो वृद्धि बिकास हुने यस वनस्पतिको लागि चिस्यान अति आवश्यक छ तर पानी जमेको भने हुनुहुदैन।
झट्ट हेर्दा बकाईनो र यसकै समुहमा पर्ने अर्को बनस्पति Azardirachta indica अर्थात निम उस्तै उस्तै देखिन्छन् तर यी दुई बिच विभिन्न असमानता रहेका छ्न। निमको पातमा ५-१५ वटा पर्चा (leaflet) हुन्छन भने बकाईनोको पातमा ३-१० वटा मात्र पर्चा (leaflet) हुन्छन। सामान्यतया निमको रुख ठुलो हुन्छ भने बकाईनो केही सानो हुन्छ।
पुस माघ तिर बकाईनोका पुराना पातहरु झर्ने बैसाख जेष्ठ तिर नया पातहरु आउने गर्दछन। यसको फल जाडोयाम तिर पाक्ने गर्दछ। जुन पहेलो रङ्गको हुन्छ। बकाईनोको एउटा फलभित्र पाँचवटा बिउहरु हुन्छन्। मुख्यतया बीउ बाट मात्र प्रजनन हुने यस बनस्पति कहिँ कतै हागा काटेर पनि सफल प्रजनन गरेको पाईएको छ। यसको फल स्वास्थका दृस्ठिले त्यति लाभदायी मानिदैन तर पनि विविध प्रयोजनका लागि यसको निकै महत्व छ।
बकाईनो एक किसानमैत्री बनस्पति हो। नेपालको परिप्रेक्षमा यसको प्रयोग निकै न्यून छ। अहिलेसम्मको प्रयोग हेर्दा नेपालमा बकाईनो डाले घासको रुपमा अधिकतम प्रयोग गरेको पाईन्छ। किसानहरु यसको हागा काटेर सिधै गाई भैसिलाई खुवाउने गर्दछन। बकाईनोको घाँस निकै पोषिलो हुन्छ। विभिन्न फाइवरले भरिपूर्ण यसको पातमा विभिन्न खनिज पदार्थ, क्याल्सियम (Calcium), फोस्फोरस (Phosphorous), सिलिका (Silica) लगायतका अन्य धेरै तत्वहरु पाइन्छन । गाई भैसिको दूध बढाउन बकाईनोको प्रयोग निकै लाभदायक छ।
बकाईनो लाई काठको रुपमा पनि प्रयोग गर्न सकिन्छ । मध्यम घनत्व हुने सामान्यतया खैरो रङ्गको यसको काठ निकै उच्च गुणस्तरको मानिन्छ। बिशेषतया घर भित्र प्रयोग हुने काठका सामाग्रीहरु बनाउन यसको प्रयोग अत्याधिक छ। फन्जाई प्रतिरोधक यसको काठको माग वैदेशिक बजारमा दिन प्रति दिन बढ्दो छ। बकाईनोको काठ ईन्धनको एउटा महत्त्वपूर्ण स्रोत पनि हो।
किसानहरु बकाईनोलाई छापोको रुपमा पनि प्रयोग गर्दै आईरहेका छन। जसलाई अंग्रेजीमा मल्चिंग (mulching) भनिन्छ । विशेष गरि रोपाइँको बेला छापोको प्रयोग अत्याधिक हुन्छ। यसले माटोलाई छोपेर राख्नुका साथै माटोको चिस्यान पनि जोगाई राख्छ।
बकाईनो लाई विभिन्न जनावर तथा बनस्पतिमा लाग्ने विभिन्न रोगहरुको निदान गर्न पनि प्रयोग गरिन्छ। लामो समय देखि सुन्तला प्रजातिका बनस्पतिमा प्रमुख समस्या बन्दै आईरहेको सुन्तलाको पात खाने किरो (citrus leaf miner) को वृद्धि रोक्न बकाईनोको प्रयोग प्रभावकारी छ। त्यस्तै बाख्राको सानो आन्द्रामा बस्ने हानिकारक coccidiosis परिजिविको निदान गर्न पनि बकाईनोको प्रयोग निकै प्रभावकारी सिद्ध भएको छ।
विभिन्न गुणस्तरीय साबुन तथा तेलहरु बनाउन बकाईनोको प्रयोग बढ्दो छ। बासनादार फुल फुल्ने बकाईनोलाई श्रिङ्गारिक वनस्पतिको रुपमा बगैचामा लगाउदै आइएको छ। यसलाई छायादार वृक्षको रुपमा बाटोको छेउछाउमा लगाउने गरेको पाईन्छ।
बकाईनोको आयुर्वेदिक जगतमा पनि निकै महत्त्व रहेको पाईन्छ। यसलाई चिलाउने रोगमा, सेतो दुधिमा, दादमा, पत्थरीमा, बाथ रोगमा, जुका परेमा, महिनावारी अनियमित भएमा लगायत अन्य विभिन्न समस्याको समाधान गर्नमापनि यसको प्रयोग गर्न सकिन्छ।
बकाइनो कम लगानीमा धेरै फाइदा लिन सकिने निकै लाभदायक बनस्पति हो । यदि बकाइनो लाई उचित स्थानमा उचित तरिकाले प्रयोग गर्न सकियो भने नेपालमा यसको निकै सम्भावना रहेको छ ।
– सन्देश सुबेदी