स्ट्रवेरी खेती प्रविधि

0
1033

 

रोजेएसी (rosaceae)परिवारमा पर्ने विरुवामा लहरा निस्की फूल फुली ऐंसेलु जस्तो फल लाग्ने यो फललाई स्थानिय भाषामा भुइँ ऐंसेलु भनिन्छ । अमेरिकन जङ्गली स्ट्रवेरी फ्रागेरीया चाइलोएपनसिस र फ्रागेरिया भर्जिनिया दुई जातका बिचमा प्राकृतिक रुपलले परागसेचन भइ शंकरीकरण (Hybridization) भइ द्धिगुणिय जातको फ्रागेरियाको विकास भएको विश्वास गरिन्छ । यहि विश्वासको आधारमा मानवले सेवन गरेको पहिलो स्ट्रवेरीको उत्पति अमेरिकामा भएको मानिन्छ । हेर्दा रातो करीब करीब त्रिकोण आकारको फल लाग्ने यो फल औषधी तथा पौष्टिक गुणले भरीपूर्ण हुन्छ । फोलिक एसिड ,भिटामिन सिले भरिपूर्ण यो फल कोलस्ट्रोल फ्रि हुने भएकाले मधुमेय तथा पिसाबको समस्या भएका व्यक्तिहरुकोलागी अत्तिनै उपयुक्त मानिन्छ ।

हावापानी तथा माटो

समुद्री सतहबाट १५०० देखि २५०० मिटर सम्मको उचाइमा सुख्खा ,वार्षिक ३००० देखि ४००० मि.ली वर्षा हुने ,चिसो हावापानी भएको ठाउँमा व्यवसायिक स्ट्रवेरी खेती गर्न उपयुक्त हुन्छ । स्ट्रवेरीको वृद्धि विकासकालागी २२ देखि २५ डिग्री सेल्सियस् तापक्रम उपयुक्त हुन्छ भने १० डिग्री से. भन्दा बढी तापक्रमै यसका रनर्र उत्पादन हुने गर्छ । जात र लगाउने समय अनुरुप यसमा तातो तापक्रम र तुषारो सहने शक्ति भने फरक पर्छ । विषेशतः जेष्ठ असारमा फल्ने जातलाई हिउँदको चिसोबाट बचाउँन प्लास्टिक घरमा खेती गर्दा उपयुक्त हुन्छ भने भदौ असोजमा सार्ने जातलाई खुल्ला रुपमै खेती गर्न सकिन्छ ।
स्ट्रवेरी प्रायः सबै प्रकारको माटोमा खेती गर्न सकिने भएतापनि दोमट बलौट,ढुङ्गा बढि नभएको , पानीको निकास राम्रो भएको माटोमा खेती गर्दा बढी उपयुक्त हुन्छ । सिचाईको राम्रो प्रबन्ध भएको ,अम्लियपन ५.५ देखि ६.५ भएकोे विशेषगरी पुर्वी तथा उत्तरी मोहोडा भएको जमिनमा यसको खेती गर्न उचित हुन्छ ।

जमिनको तयारी
स्ट्रवेरीलाई विशेषत माउ बोटको फेदबाट आउने रनरबाट प्रसारण गरि उत्पादन गरिन्छ ।जेष्ठको अन्तिम वा असारको पहिलो हप्तामा राम्रो उत्पादन दिइरहेको माउ विरुवा छनौट गरि छोटो लम्वाई भएको रनरलाई छानी पोलीब्यागमा हुर्काउन सकिन्छ । रनर काट्दा नोडको १ इन्च तल काट्दा उपयुक्त हुन्छ ।

जमिन तयारी गर्दा जग्गालाई २–३ पटक जोती प्रति हेक्टर २२ टन प्राङ्गारिक मल (१२०० केजीप्रति रोपनी) छर्नु पदर्छ । प्राङ्गारिक मल छरि सकेपछि मललाई राम्रो सगँ मिसाइ २०–२२ से.मी उचाइ,६० से.मी चौडाइ र जमिनको आकार हेरी आवश्यकता अनुसारको लम्बाइमा ड्याङ्ग बनाउनु पर्छ । प्रतिबोट ९८ ग्राम युरिया र १४२ ग्राम म्युरेट अफ पोटस पर्ने हिसाबले ड्याङ्गमा छरी प्लास्टिक मल्चिङ्ग (छोपो) प्रविधि अपनाउँदा फाइदा जनक हुन्छ । झार नियन्त्रण हुने ,फलमा माटो नलाग्ने र माटोमा रनर सर्न नपाउँने भएकाले मल्चिङ्ग गर्नु एकदमै उपयुक्त हुन्छ ।

विरुवा संख्या ,दुरी तथा जात
स्ट्रवेरी खेती गर्दा प्रति रोपनि १५०० वटा विरुवा रोप्न सकिन्छ भने रोप्दा विरुवा बिचको दुरी ४५–६० से.मी हुनुपर्छ र दुई पङ्तीे बिचको दुरी ७५ से.मी राखी रोप्दा उपयुक्त हुन्छ । नेपालमा विशेषत न्योरो र ओनो जातको स्ट्रवेरीको खेती गरिन्छ । जापानी सरकारको सहयोगमा नुवाकोटको ककनीबाट थालनी गरीएको स्ट्रवेरको खेतीबाट अहिले देशका विभिन्न भागका किसानहरु खेती गर्न प्रेरित हुदैँ गइ रहेका छन् ।

रोप्ने समय
बेर्ना राखेका रनरहरु २–३ महिनाको भएपछि मुख्य ब्याडमा सार्नु पर्दछ । ठाउँ तथा हावापानी अनुसार तराई,भित्री मधेश,तथा मध्य पहाडमा भदौ असोजमा रोप्नु पर्दछ भने उच्च पहाडमा चैत देखि बैशाखसम्ममा रोप्न सकिन्छ ।

तालीम
स्ट्रवेरीको उत्पादन क्षमता,उत्पादकत्व तथा गुणस्तर वृद्धि गर्न तालीमको आवश्यकता पर्दछ । स्ट्रवेरीमा तालीम ३ तरीकाले गर्न सकिन्छः
१) एक मूल प्रणाली : यस विधिमा मूल बोटलाई मात्र राखी सबै रनरहरु काटिन्छ । काटिएका रनरलाई नर्सरीमा सार्न सकिन्छ ।
२) चार मूल प्रणाली : यस विधिमा मुल बोटमा आएका रनरहरु मध्य सकेसम्म चार दिशामा एक रनर पर्ने तरिकाले राखी अरु अनआवश्यक रनर हटाइन्छ ।
३) बहु मूल प्रणाली : यस विधिमा मूल बोटबाट आएका रनरलाई एक फुटको दुरी भित्र आफैँ सर्न दिइन्छ र बढी फैलिएका रनरलाई हटाइन्छ ।

सिंचाई
स्ट्रवेरी खेती गर्दा पानीको व्यवस्थापन एकदमै महत्वपूर्ण हुन्छ । धेरै पानी भएको खण्डमा जरा कुहिने र विरुवा ओइलाउने समस्या हुने गर्दछ भने वृद्धि विकासको लागी चिस्यान आवश्यक पर्ने भएकाले माटो,मौसम र विरुवाको अवस्था हेरि सिंचाई गनुपर्दछ ।

फल टिपाई
स्ट्रवेरीको फल सामान्य अवस्थामा टिपेको २–३ दिनमै बिग्रने भएकाले सुरक्षित भण्डारणको वेवस्था गरि खेती थालनी गर्नु पर्छ ।जात अनुसार फल टिप्ने समय फरक पर्ने भएपनि फल टिप्दा तापक्रम धेरै नभएको बेलापारि विहान या बेलुका ४/५ बजेतिर टिप्दा बेस हुन्छ । फल टिप्दा भेट्नु सहित फलमा चोट नलाग्ने गरि टिप्नु पर्दछ भने फल टिप्न थाले पछि हरेक दुई तिन दिनमा पुनः टिप्ने बेला भइनै रहन्छ त्यसैले बजारको माग हेरी सुरक्षित ढुवानी र भण्डारणको वेवस्था समयमै मिलाउनु पर्छ ।

 

रोग किरा
१) खैरो ढुसी रोग :

यो रोगले पहिला पाकेको फलमा आक्रमण गर्दछ र यो रोग लागेको प्रारम्भिक समयमा फलमा खैरो धुलोजस्तो कणहरु देखिन्छ र पछि यी कणहरु फैली पुरै फलनै सडेर झर्दछ । यो रोगको रोकथामकालागी फूल फुल्नसाथ क्यापटान या ब्लाइटक्स पाउडर २ ग्राम प्रति लिटर पानीमा मिसाइ पुरै बोट भिज्ने गरी हप्तामा ३ पटक दिन बिराएर छर्नु पर्दछ भने पछि फलमा रोग लागेको देख्न साथ फल टिपेर जम्मागरी खाल्टो खनी पुर्ने व्यवस्था मिलाउनु पर्दछ ।

२) कोत्रे रोग
यो रोग लाग्दा पातका नसाहरु,कलिला मुनाहरु र फलमा कालो खरानी रङ्गको दाग देखा पर्दछ भने रोगको संक्रमण बढ्दै जादाँ पात बटारिदैँ जान्छ र अन्तत पात सुकि झर्दछ । यो रोग लागेका फलमा साढेँको आँखा जस्तो दाग देखा पर्ने भएकाले फल कुरुप हुने र बजारीकरणमा समस्या आउने भएकाले समयमै सावधानी अपनाउँनु पर्दछ। यस रोगको रोकथामकालागी इन्डोफिल एम–४५ विषादि २ ग्राम प्रति लिटर पानीमा घोलेर छर्नु पर्दछ ।

३) पातको कालो थोप्ले रोग
यो रोग लाग्दा सुरुमा पातहरुमा सानो–सानो छरिएको कालो थोप्लाहरु देखाँ पर्छन जुन पछि गएर पुरै पातभरी फैलन्छ र अन्तत पातनै सुकि झदर्छ ।यो रोग लागेमा फूल फुल्न कमी हुने भएकाले प्रारम्भिक अवस्थामै यसको रोगथामको काम गर्नु पदर्छ । यस रोगको रोकथामकालागी गन्धक या बेभिस्टिन नामक विषादी छर्न सकिन्छ ।

किरा
१) लाही
विशेषत यो किराले चैत महिना देखि आक्रमण गर्ने र यसको माउ तथा बच्चा दुवैले पात,हाँगा , मुना तथा फलबाट रस चुसि विरुवा तथा फलको आकारनै बिगारी दिने हुदाँ समयमै यसको रोकथाम गर्नुपर्छ । यसको रोकथामकालागी रातो खपटे किराको प्रयोग गर्न सकिन्छ भने निममा आधारित विषदि वा सुर्तीको झोल,खरानी, मट्रितेल वा साबुन पानिको प्रयोग गर्न सकिन्छ । किराको प्रकोप बढि भएको खण्डमा मेटासिस्टक्स अथवा रोगर २ मि.ली १ लिटर पानीमा मिसाइ छर्न सकिन्छ ।
२) सुलसुले
यस किराले असर गर्दा पातको तल्लो भागमा माकुराले बनाउने जस्तै जालोे बनेको हुन्छ र जालोले पुरै पात ढाक्दै जादाँ पात पहेंलो हुदैँ जाने र अन्तत पात सुकि झर्दछ । किराको प्रकोप बढि भएको खण्डमा रोगर २ मि.ली १ लिटर पानीमा मिसाइ छर्न सकिन्छ ।